कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको सङ्ख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । 

कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नेपालीले भने, “पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ । यही भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा छौँ । त्यसका लागि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ । दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *